सुज अभियान निर्देशिका सन् २०२१

सुज अभियान निर्देशिका सन् २०२१ in pdf file>>

सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद !
समुन्नत सङ्घीय समाजवाद – जिन्दावाद !!

सुज अभियान निर्देशिका
सन् २०२१ (वि. सं. २०७८)

१. विषय प्रवेश
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नेपालका पुराना राजनीतिक पार्टीहरू यथास्थितिवादी शक्तिमा रूपान्तरित भए । समाजमा र पुराना पार्टीहरूभित्र यथास्थितिवादका विरुद्ध अग्रगमनको पक्षमा सङ्घर्ष भइरहेको छ । यथास्थितिवादी पुराना पार्टीहरूका विकल्पमा परिवर्तनकारी नयाँ राजनीतिक शक्तिहरू जन्मनु अनिबार्य छ । यसै पृष्ठभूमिमा समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबिच २०७७ बैशाख १० गते पार्टी एकीकरण भई जनता समाजवादी पार्टी, नेपाल गठन भएको हो । यस पार्टीले समुन्नत सङ्घीय समाजवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गर्नुका साथै सङ्घीयता, सुशासन, समृद्धि र समाजवादलाई आफ्नो चार प्रमुख नीतिका रूपमा अगाडि सारेको छ ।

नेपाल बहुराष्ट्रिय/बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र क्षेत्रीय विविधतायुक्त देश हो । यस तथ्यलाई सबैले स्वीकार गरे तापनि राज्यसत्ता र पुराना पार्टीहरूले पार्टीसत्तामा यस विविधतालाई व्यबहारिक रूपमा अभिव्यक्त हुन दिएको छैन । देशमा रहेका विविध विभेदबाट मुक्ति पाउनका लागि ‘जस्तो समाज त्यस्तै राज्य र पार्टी’ निर्माण गर्नुपर्छ भन्ने हाम्रो पार्टीको दृष्टिकोण हो । विविधतालाई अवसरको रूपमा ग्रहण गर्ने सबैभन्दा समावेशी राष्ट्रिय चरित्रको पार्टी जसपा, नेपाल हुँदाहुँदै पनि अहिले जसपा निर्माणको प्रक्रियामा भएको हुनाले यस पार्टीले पनि आफ्नो संरचनामा यस कुरा लागु गर्न सकेको छैन । निकट भविष्यमा हुने विधान अधिवेशनबाट नीति अनुसारको विधि बनाउँदै महाधिवेशनबाट अक्षरशः विधानलाई पालना गर्ने कुरा पार्टीले पटकपटक दोहोरयाउँदै आएको छ ।

देशमा बर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक तथा जातपातजन्य लगायत सबैखाले अन्याय, असमानता र विभेदको अन्त्य र देशको तीव्र आर्थिक विकाससहित श्रोत, साधन र शक्तिमा सबै नागरिकहरूको समान पहुँच हुने सामाजिक, आर्थिक व्यवस्था नै समाजवाद हो । सो प्राप्त गर्नका लागि पार्टीले पहिचान र अधिकारसहितको सङ्घीयताको कुरा उठाएको छ । राज्यपुनर्संरचना सम्बन्धमा राज्यपुनर्संरचना उच्चस्तरीय आयोगको प्रतिवेदनको आधारमा १० जोड १ रूपमा राज्यको पुनर्संरचना गर्नु नै अहिलेको विकल्प हो । साथै, शासकीय स्वरूपको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली एक मात्र विकल्प हो । त्यसरी मात्र समावेसी लोकतन्त्र, सुशासन र समृद्धिसहितको समुुन्नत सङ्घीय समाजवाद प्राप्त हुनसक्छ ।

केपी ओली नेतृत्वको सरकारले पटकपटक भएको जनआन्दोलन, जनयुद्ध, मधेश जनबिद्रोह तथा उत्पीडित राष्ट्रियताहरूले गरेको सङ्घर्षको परिणमास्वरूप प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता र धर्मनिरपेक्षतालाई उल्ट्याएर देशलाई प्रतिगमनतर्फ धकेल्न खोजेका थिए । असंवैधानिक रूपमा दुईदुई पटक जनताको जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधि सभा विघटन यसको ज्वलन्त उदाहरण हो । ३ बर्षे शासनकालमा करिव ३३ वटा अध्यादेश ल्याएर देशमा मनमौजी शासन गर्न खोजे । देशको साधन स्रोत आफ्ना आसेपासे र मुुुठ्ठीभर कमिसनखोरहरूलाई सुम्पेर देशमा भ्रष्टाचारको कीर्तिमान नै खडा गरे, जसको विरुद्धमा देशका मुख्य राजनीतिक पार्टीहरू पछिल्लो पटक एकजुट भएर आन्दोलन गरे । सचेत नागरिक समाज पनि आन्दोलित भयो । हाम्रो पार्टी जसपा, नेपालले ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमका विरुद्ध सुरुदेखि नै सडक र सदनमा निरन्तर सङ्घर्ष गरिरह्यो । सम्मानित सर्वोच्च अदालतले ओलीको प्रतिनिधि सभा विघटनको दुबैचोटीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधि सभा पुनस्र्थापना गरयो ।

मुख्य राजनीतिक दलहरूको निरन्तरको आन्दोलन, नागरिक समाजको सङ्घर्ष र सर्वोच्च अदालतको फैसलाको कारण अन्ततः प्रतिगामी ओलीतन्त्र पराजय र सङ्घीय लोकतान्त्रिक गणतन्त्र विजय भएको छ । यस फैसलाले पछिल्लोपटक भएको ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेस जनबिद्रोह, थरुहट बिद्रोह तथा आदिवासी जनजाति, खस, शिल्पी÷दलित, महिला, मुस्लिम, पिछडा वर्गलगायत सबै शक्तिहरूको आन्दोलनको परिणामस्वरूप स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संसद र संविधानको रक्षा गर्नुका साथै टुट्न गएको कडी पुनः जोडिन पुगेको छ । अब शान्ति प्रक्रियाका बाँकी काम र मधेस तथा थरुहट बिद्रोहका क्रममा लगाइएका राजनीतिक मुद्दाहरू खारेजी र जेलमा रहेका माननीय रेशम चौधरीलगायतका राजबन्दीहरूलाई रिहाई गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नु आजको आवश्यकता हो ।

२. सङ्गठन सुदृढीकरण र जनजागरण अभियान (सुज अभियान) किन ?
पार्टी एकता गर्दाका बखत पुराना राजनीतिक शक्तिहरूका विकल्पमा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने हाम्रो प्रतिबद्धता थियो । खासगरी विचारमा वैकल्पिक र शक्तिमा प्रथम बन्ने, हिमाल, पहाड, तराई÷मधेस र त्यस भूगोलमा बसोबास गर्ने विभिन्न समुदायहरूलाई राज्यको हरेक निकायमा समान अधिकार, पहुँच र प्रतिनिधित्व गराउँदै नयाँ आधारमा देशको नयाँ राष्ट्रिय एकता कायम गर्ने र देशलाई समृद्ध र विकसित बनाउने हामी सबैको सपना थियो । विडम्बना, त्यस महान सपनालाई कुठाराघात गर्दै केही व्यक्तिहरू ओली प्रतिगमनका मतियार बन्न पुगे । तर जसपा, नेपालको मूल धार आज पनि अविचलित रूपमा ती सपनाहरू पूरा गर्न प्रतिबद्ध छन् ।

स्थानीय तहको निर्वाचन १० महिनाभित्र अनि प्रदेश र सङ्घको निर्वाचन डेढ बर्षभित्र हुँदैछ । चुनावमा पार्टीले श्रेष्ठता हासिल गर्दै अघि बढ्न सकेन भने हाम्रो सपना फगत सपनामै सीमित रहने छ । सङ्घीय निर्वाचन क्षेत्र १६५, प्रदेश निर्वाचन क्षेत्र ३३०, मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्ष १५०६, वडाध्यक्ष ६७४३ र वडा सदस्य २६७९० गरि जम्मा ३५,५३४ जना उम्मेदवार चाहिन्छ । मेयर/पमेयर, अध्यक्ष/उपाध्यक्षमा ७५३ महिला उम्मेदवार चाहिन्छ । २६७९० वडा सदस्यहरूमा १३३९५ महिला उम्मेदवार चाहिन्छ, त्यसमध्ये झण्डै आधा दलित महिला उम्मेदवार हुनु पर्दछ । कुनै पनि निर्वाचनमा श्रेष्ठता हासिल गर्न विचार, सिद्धान्त र मुद्दा मात्रै राम्रो भएर पुग्दैन । विचारलाई भौतिक शक्तिमा रूपान्तरण गर्नका लागि व्यापक सङ्गठनात्मक सञ्जाल चाहिन्छ । त्यस्तो सङ्गठनात्मक सञ्जालबिना निर्वाचन जित्न सकिँदैन । त्यसैले मधेसमा भएको पार्टीको सङ्गठनात्मक शक्तिलाई अझ सुदृढ गर्ने, पहाड हिमालमा सङ्गठन बिस्तार गर्ने र आउँदो निर्वाचनसम्ममा जसपा, नेपाललाई वैचारिक रूपमा वैकल्पिक र शक्तिमा निर्णायक बनाउन यो “सङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान)” मार्फत यस अभियानको मुख्य उद्देश्य रहेको छ ।

१. अभियानको नाम: यस अभियानको नाम “सङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान)” रहने छ ।
२. अभियानको प्रमुख नारा: सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद !
समुन्नत सङ्घीय समाजवाद – जिन्दावाद !!
३. अभियानको नेतृत्व: अभियानको समग्र नेतृत्व ‘केन्द्रीय कार्यकारिणी समिति’ ले गर्ने छ ।
४. अभियानको समयावधि: अभियान २०७८ भाद्र १ गते सुरु भई मङ्सिर मसान्तसम्म सञ्चालन हुने छ ।
५. अभियान सञ्चालन क्षेत्र: यस अभियान मुख्यतः सङ्घीय निर्वाचन क्षेत्र केन्द्रित हुने छ ।
६. अभियानको उद्देश्य:
– पार्टीलाई वैचारिकरूपमा वैकल्पिक र शक्तिको हिसाबले पहिलो बनाउने ।
– समायोजनको बाँकी काम सम्पन्न गर्ने ।
– पार्टी कार्यकर्ताहरूको सैद्धान्तिक एवम् वैचारिक स्तर अभिबृद्धि र रूपान्तरण गर्ने ।
– विधान अधिवेशन सम्पन्न गर्ने ।
– संविधान संशोधनको लागि सरकार, सदन र सडकबाट जनदवाव सृजना गर्ने ।
– निर्वाचनको तयारी गर्ने ।
– सबै स्थानीय तहसम्म सङ्गठनात्मक सञ्जाल बिस्तार गर्ने ।
– एकीकरण र ध्रुवीकरणको कामलाई अघि बढाउने ।
– समसामयिक मुद्दाहरू जस्तै महङ्गी, भ्रष्टाचार, बेरोजगारी आदि लिएर सङ्घर्ष गर्ने र साथै स्थानीय मुद्दाहरू पनि लिएर सङ्घर्ष गर्ने ।
– महिला हिंसा, जातपातजन्य विभेद र सामाजिक÷सांकृतिक विकृतीविरुद्ध जागरण ल्याउने ।

३. अभियानको लक्ष्य र कार्यक्रम:
उपरोक्त उद्देश्यहरू प्राप्तिका लागि निम्न कार्यक्रमहरू सञ्चालन गरिने छ:

क) वैचारिक/राजनीतिक:
– भदौ मसान्तसम्म पार्टी सङ्घीय परिषद सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय निकाय र केन्द्रीय बिभागका सदस्यहरू तथा जनसङ्गठनका पदाधिकारीहरूको प्रशिक्षण सम्पन्न गर्ने । असौज १ देखि मसान्तसम्म सोही ढाँचामा प्रदेश र राष्ट्रिय समितिहरूको संयुक्त रूपमा प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न गर्ने । प्रदेशस्तरीय प्रशिक्षणमा त्यस प्रदेशमा कार्यरत केन्द्रीय समिति, केन्द्रीय निकाय तथा सङ्घीय परिषद सदस्यहरूलाई पनि सहभागि गराउने । प्रदेशको योजनामा मङ्सिरसम्म जिल्लालगायत स्थानीय तहको प्रशिक्षण सम्पन्न गर्ने ।
– वैचारिक, राजनीतिक, सङ्गठनात्मक उद्देश्य समेटिएको जनस्तरमा वितरण गर्न केन्द्रीय कार्यालयले पर्चा तयार गर्ने ।
ख) समायोजन
– समायोजन हुन बाँकी प्रदेश र पहिचानमा आधारित राष्ट्रिय समितिहरूको समायोजन भाद्र मसान्तसम्म सम्पन्न गर्ने ।
– समायोजन हुन बाँकी जिल्ला समन्वय समितिलगायत स्थानीय तहको समायोजन असोज मसान्तसम्म सम्पन्न गर्ने ।
– जनबर्गीय सङ्गठनहरूले प्रदेश र स्थानीय स्तरमा पार्टी सङ्गठनको कार्यक्रम तालिकाअनुसार समायोजन सम्पन्न गर्ने ।
ग) सङ्गठन
– पार्टी एकीकरण पूर्व पार्टी सदस्यहरूलाई जनता समाजवादी पार्टीको सदस्यमा रूपान्तरण गर्न पार्टी सदस्यता नवीकरण गर्ने ।
– पार्टी सदस्यहरूलाई पार्टी सदस्यता परिचय–पत्र उपलब्ध गराउने ।
– सबै स्थानीय तहहरूमा मङ्सिरसम्म पार्टी समितिहरू गठन गर्ने । सम्भव नभएका वडा, गाउँ र टोलहरूमा सम्पर्क ब्यक्ति बनाउने ।
– भदौ मसान्तभित्र केन्द्रीय निकाय र विभागहरूलाई पूर्णता दिने । प्रदेशले पनि प्रादेशिक निकाय र विभागहरूलाई असोज मसान्तभित्र बनाउने र जिल्लालगायतका स्थानीय तहले आवश्यकतानुसार विभाग गठन गर्न सक्ने ।
– जिल्लातहसम्म पार्टी सदस्यतालगायत पार्टीका अभिलेखहरू ब्यवस्थित गर्ने ।
– २०७८ को मङ्सिरमा विधान अधिवेशन सम्पन्न गर्ने ।

घ) निर्वाचन सम्बन्धमा
निर्वाचनमा विजय हासिल गर्नका लागि सङ्गठनात्मक शक्ति र जनमत भएर मात्रै हुँदैन । त्यसका लागि पार्टीसँग सहि तथ्याङ्क, सोहीअनुरूपको कार्यक्रम र योग्य उम्मेदवार पनि चाहिन्छ । ती सबै कुराको तथ्यमा आधारित रिपोर्ट पार्टी केन्द्रीय कार्यालयमा केन्द्रित गर्न जरुरी छ । सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्नका लागि तत्तत् निकायका तथ्यपूर्ण रिपोर्ट निम्नानुसार तयार गर्ने ।
– अहिलेको ५ दलीय गठबन्धनसहित चुनावमा जाँदा जसपाले जित्न र दावी गर्न सकिने सङ्घ, प्रदेश र स्थानीय तहमा कहाँकहाँ हो ?
– काङ्ग्रेस र एमालेबाहेक जसपा र माओवादी केन्द्र चुनावमा जाँदा जसपाले जित्न र दावी गर्न सकिने सङ्घ, प्रदेश र स्थानीय तहमा कहाँकहाँ हो ?
– जसपा एक्लै चुनावमा जाँदा जसपाले जित्न र दावी गर्न सकिने सङ्घ, प्रदेश र स्थानीय तहमा कहाँकहाँ हो ?
– यी तीनै अवस्थाको तथ्यपूर्ण रिपोर्ट मङ्सिर मसान्तसम्ममा केन्द्रीय कार्यालयमा पठाउनुपर्ने छ ।

ङ) पार्टी एकता र संयुक्त मोर्चा:
– नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहहरूसँग संवाद, सहकार्य बढाउँदै पार्टी एकताको पहल गर्ने र मुद्दा मिल्ने पार्टीहरूसँग गठबन्धन बनाउने ।
– अन्य पार्टीमा आबद्ध पहिचानसहितको सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र अग्रगमनका पक्षधर ब्यक्तिहरूलाई पार्टी प्रवेश गराउने, स्वतन्त्र रूपमा रहेका प्रतिष्ठित ब्यक्तिहरूलाई पार्टीमा आबद्ध गराउने ।
– सत्तारुढ गठबन्धनमा पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउने ।
– ध्रुविकृत ब्यक्ति, ब्यक्तित्व र नेतृत्वलाई आबश्यकतानुसार बिभिन्न स्तरको अभियानमा जोड्ने ।

च) जनसङ्घर्ष, जनपरिचालन र सभा
– पार्टीले गठाउँदै आएका माग र मुद्दाहरूका सन्दर्भमा संविधान संशोधन गराउन सडक, सदन र सरकार तिनै ठाउँबाट पहल लिने ।
– भ्रष्टाचार, अनियमितता, महङ्गी, कालाबजारी नियन्त्रण र सम्पदा संरक्षण लागि सङ्घर्ष र पहल गर्ने ।
– जातपात, छुवाछुत, भेदभाव, अन्धविश्वास, विकृति, विसंगति, कुरीतिबिरुद्ध जनचेतनामूलक कार्यक्रमहरू गर्ने ।
– मातृ भाषामा शिक्षा प्राप्तीका लागि प्रत्येक पालिका समितिहरूले पहलकद्मी लिने ।
– पर्यावरणीय बिनाशबिरुद्ध जनचेतनामूलक कार्यक्रमहरू गर्ने ।
– पहिचानमा आधारित राष्ट्रिय समितिहरू, जनवर्गीय सङ्गठनहरूले आ–आफ्नो हकहितका लागि सङ्घर्ष र जनपरिचालन गर्ने ।
– माथि उल्लेखित जनसङ्घर्ष र जनपरिचालनका लागि सङ्घीय, प्रादेशिक र स्थानीय तहसम्म पार्टीका सबै जनसङ्गठनका प्रतिनिधिहरू राखेर जनपरिचालन समिति गठन गर्ने ।
– सत्तारुढ गठबन्धनका अन्य दलहरूसँग समेत मिलेर राष्ट्रिय तथा स्थानीय मुद्दाहरूमा सङ्घर्ष गर्ने ।

छ) प्रचार प्रसार र साँस्कृतिक अभियान:
– केन्द्रले सञ्चालन गर्दै आएको वेवसाइटलाई प्रभावकारी बनाउने र प्रदेशहरूले पनि वेवसाइट खोली नियमित रूपमा सञ्चालन गर्ने ।
– पार्टी सदस्यहरूले सामाजिक सञ्जालमार्फत आफूलाई अपडेट गराइराख्ने । प्रत्येक अभियान टोलीले प्रत्येक दिन गरिएको कार्यक्रमको तस्बीरसहितको समाचार राख्ने र सबैले शेयर गर्ने ।
– सबैखाले सञ्चार साधनहरूको अधिकतम प्रयोग गर्ने ।
– प्रदेश र स्थानीय तहमा साँस्कृतिक टोलीहरू निर्माण गरी परिचालन गर्ने ।

ज) नमूना प्रदेश, जिल्ला र पालिका:
– पहिचानसहितको सङ्घीयता, समतामूलक समृद्धि, सहभागितामूलक समावेशी लोकतन्त्र, सुशासन÷ सदाचार लगायतका पार्टीका आधारभूत मान्यता प्रतिबिम्बित हुने गरी मोडेल प्रदेश, जिल्ला र पालिकाको बिकास योजना बनाउने ।
– नमूना बिकास योजनाको निर्माण र कार्यान्वयनका निम्ति विज्ञहरूको टिम परिचालन गर्ने ।

४) कार्ययोजना निर्माण र सञ्चालन विधि:
– केन्द्रबाट तोकिएका प्रतिनिधि, प्रदेश र पहिचानमा आधारित राष्ट्रिय समितिका इञ्चार्ज, सहइञ्चार्ज, पदाधिकारीहरू र जिल्लाका इञ्चार्ज र अध्यक्ष साथै जनसङ्गठनका प्रदेश समिति अध्यक्ष र मुख्य सचिव बसीे कार्ययोजना बनाई कार्यान्वयन गर्ने ।
– प्रवासस्थित नेपाली समाज (नेसो) हरूले नियमित सङ्गठनात्मक कामका अतिरिक्त आ–आफ्नो सापेक्षतामा वैचारिक, राजनीतिक र जनपरिचालनका काम गर्ने ।
– अभियानलाई ब्यवस्थित र परिणाममुखी बनाउन अभियान टीमले आचार–संहिता बनाई कडाइपूर्वक कार्यान्वयन गर्ने ।

५) कार्यालय तथा आर्थिक ब्यवस्थापन:
– सबै जिल्लाहरूले प्रबिधिमैत्री कार्यालय सञ्चालन गर्ने । निर्वाचन क्षेत्र, पालिका समिति र वडाहरूमा पनि कार्यालय खोली सञ्चालन गर्ने । कार्यालय नभएका गाउँ र वडाहरूमा सम्पर्क कार्यालयहरू बनाउने ।
– जिल्ला समितिमा अध्यक्ष वा तोकिएको पदाधिकारीमध्ये १ जना र कार्यालय सचिव १ जना पूर्णकालीन हुनुपर्ने ।
– प्रत्येक पार्टी सदस्यले अनिबार्य रूपमा लेवी बुझाउनु पर्ने साथै आर्थिक हैसियत राम्रा भएका पार्टी समर्थक, शुभचिन्तक, बुद्धिजीवी, उद्यमी, ब्यवसायीहरूमध्ये मासिक रूपमा न्यूनतम रु. ५००/– भन्दा बढी सहयोग गर्नसक्ने ब्यक्तिहरूको सूची बनाई सहयोग संकलन गर्ने ।
– केन्द्रीय आर्थिक बिभागले सहयोग रसिद छापी प्रदेशलाई पठाउने । प्रदेशले स्थानीय तहलाई रसिद उपलब्ध गराउने ।
– अभियान संकलन रसिदबाट प्राप्त रकममध्ये पालिकामा ५० प्रतिशत, जिल्लामा २० प्रतिशत, पहिचानको राष्ट्रिय समितिमा १० प्रतिशत, प्रदेशमा १० प्रतिशत र केन्द्रीय आर्थिक बिभागमा १० प्रशित पठाउनु पर्ने छ ।
– सबै समितिमा दोहोरो लेखा प्रणालीको आधारमा आम्दानी÷खर्चको लेखा राख्ने र नियमित लेखापरीक्षण गर्ने ब्यवस्था गरी आर्थिक ब्यवस्थापनको सुदृढीकरण र पारदर्शिता कायम गर्ने ।

६) अभियानको नेतृत्व:
– यस अभियानको नेतृत्व पार्टी केन्द्रीय कार्यकारिणीले गर्ने छ । अभियानको दैनिक कार्य सम्पादन र अभियानलाई छिटोछरितो, चुस्तदुरुस्त रूपमा सञ्चालन गर्ने काम अभियानको सचिवालय गर्ने छ ।
– प्रदेशमा अभियानको संयोजन केन्द्रीय कार्यकारिणी सदस्यहरूले गर्ने छन् । अभियान संयोजक र सदस्यहरूले पार्टीका सम्बन्धित समितिहरूसँग समन्वय गरी काम गर्नुपर्ने छ । केन्द्रीय सदस्यहरूले जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रको तथा प्रदेश र पहिचानमा आधारित राष्ट्रिय समितिले प्रदेश निर्वाचन क्षेत्रको अभियान सञ्चालन गर्ने छ । त्यस्तै जिल्ला समन्वय समितिले पालिका तहको अभियानको सञ्चालन गर्ने छ ।

७) कार्यबिभाजन
– केन्द्रीय सदस्य, केन्द्रीय निकायका सदस्य र सङ्घीय परिषद् सदस्यहरूको ठोस कार्यबिभाजन केन्द्रबाट जिम्मेवारी लिएरआएका केन्द्रीय कार्यकारीणी सदस्यहरुको संयोजनमा प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र जिल्ला समन्वय समितिका प्रतिनिधिहरुको उपस्थितिमा गर्ने छ ।
– एउटै जिल्ला, सङ्घीय निर्वाचन क्षेत्र र महानगरपालिकामा धेरैजना केन्द्रीय वा सङ्घीय परिषद् सदस्य भएमा समझदारीमा छिमेकी जिल्ला, सङ्घीय निर्वाचन क्षेत्र र महानगरपालिकामा कार्यबिभाजन गर्न सकिने छ ।
– जुन जिल्ला, निर्वाचन क्षेत्र र महानगरपालिकामा केन्द्रीय वा सङ्घीय परिषद् सदस्य छैन, त्यहाँको नेतृत्व सम्बन्धित समितिको निर्णयअनुसार प्रदेश सदस्य, पहिचानमा आधारित राष्ट्रिय समितिका सदस्य वा प्रदेश परिषद् सदस्यले गर्ने छ ।
– समाजवादी पार्टी र राजपा दुबै रहेका ठाउँहरूमा हालको प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र स्थानीय समितिहरू समायोजन गरेपश्चात बन्ने नेतृत्वले नै सम्बन्धित समितिहरूको समग्र कामको नेतृत्व गर्ने छन् । तर अभियान अवधिभरका लागि केन्द्रीय कार्यकारिणी समितिबाट आएका प्रतिनिधिले नै प्रदेश, राष्ट्रिय समिति र स्थानीय समितिसँग समन्वय गरी अभियान सञ्चालन गर्ने छन् ।
– प्रदेश समितिहरूमा इञ्चार्ज र अध्यक्षले आपसमा समन्वय गरी काम गर्ने छ ।
– यस अभियानमा पार्टी सङ्गठन, जनसङ्गठन र पार्टीका सम्पूर्ण अवयवहरू सबै एकीकृत र केन्द्रीकृत रूपमा सञ्चालन हुने छ ।

८) विविध:
– केन्द्रीय कार्यकारिणीले तोकिएका केन्द्रीय सदस्यभन्दा बाहेक अरु सबै तोकिएको कार्यक्षेत्रमा गई अभियानमा सहभागी हुनुपर्ने छ ।
– सङ्घीय र प्रदेशसभा सदस्यहरूको हकमा अधिवेशन साथै संसदीय समितिका बैठक चलेको बेला आ–आफ्नो समितिको बैठकमा सहभागी हुनेछन् ।
– स्थानीय तहबाट प्राप्त प्रगति विवरण प्रत्येक महिना प्रदेश कार्यालयले केन्द्रीय अभियान सञ्चालन सचिवालयमा अनिबार्य रूपमा पठाउनु पर्ने छ ।

९) अभियन्ताहरूले पालना गर्नु पर्ने नियम र आचारसंहिता
१) आफ्नो कुरा अपीलको शैलीमा राखौँ ।
२) छोटो र मीठो बोलौँ । व्यक्तिगत घोचपेच र आरोप प्रत्यारोप नगरौँ ।
३) तोकिएको समयमा बैठक, कार्यक्रम शुरु गरौं । आसनग्रहण र सम्बोधनमा कम समय प्रयोग गरौं
४) कार्यक्रम भड्किलो, खर्चिलो र आडम्बरयुक्त नबनाऔं । भ्रष्टचार र व्यभिचारबाट टाढै बसौँ ।
५) तार्किक बनौं, तथ्यमा विश्वास गरौँ ।
६) अध्ययनशील, मेहनती, र सक्रिय बनौँ ।
७) भाग्यमा होईन कर्ममा विश्वास गरौँ ।
८) पार्टीभित्र छलछाम, षड्यन्त्र र गुटबन्दी नगरौँ ।
९) परम्पराको नाममा अन्धविश्वासमाथि होइन, नयाँ ज्ञान, विज्ञानमा विश्वास गरौं ।
१०) जात, लिंग, बर्ग, क्षेत्र, पेशा, शिक्षा, भाषा र धर्मको आधारमा कसैको अपमान नगरौं ।
११) श्रम संस्कृतिको निर्माण गरौँ, सबैखाले श्रमको उच्च सम्मान गरौँ ।
१२) पदलाई पुरस्कार होइन, जिम्मेवारीको रूपमा ग्रहण गरौँ ।
१३) नेतृत्वको देवत्वकरण होइन, पद्दतिसहित सामूहिक नेतृत्वको विकास गरौं ।
१४) निषेध र सम्झौता होइन, एकता–सङ्घर्ष रूपान्तरणको विधि पालना गरौँ ।
१५) परिणाममुखी काम गरौँ । आफ्नो कामको व्यवस्थित रिपोर्ट बनाउने र बुझाउने गरौँ ।

प्रिय साथीहरू,
हामी इतिहासकै अत्यन्तै सङ्गीन मोडमा उभिएका छौं । प्रतिगमनलाई परास्त गर्दै देश अग्रगमनको बाटोमा अघि बढिरहेको छ । तर लडाइँ सकिएको छैन । सडक, सदन र चुनावको मोर्चाबाट प्रतिगमनलाई पूर्णरूपमा परास्त गर्नु अग्रगामी शक्तिहरूको अबको मुख्य कार्यभार हुने छ । कुनै पनि लडाइँको राम्रो तयारी गर्नु भनेको लडाइँ मूलतः जित्नु हो । हामी जित्न चाहन्छौं । नयाँ इतिहास निर्माण गर्न चाहन्छौं । वैचारिक प्रष्टता, प्रतिबद्धता, समर्पणभावसहित जब हामी युद्धस्तरमा अभियान सुरु गर्नेछौं, हाम्रो विजयलाई कसैले रोक्नसक्ने छैन । त्यसैले, आउनुहोस् पार्टी निर्माणको यस महान अभियानमा एकताबद्ध होऔँ । सङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) भव्य रूपमा सफल पारौँ । धन्यवाद ।
१४ श्रावण २०७८ ।

सुज अभियान सञ्चालन समिति
जनता समाजवादी पार्टी ।

सुज अभियानका सन्दर्भ सामग्रीहरुः

१) जनता समाजवादी पार्टी, नेपालको घोषणा—पत्र
२) राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीबिच
एकताको सहमती पत्र
३) जनता समाजवादी पार्टीको अन्तरिम विधान
४) जनता समाजवादी पार्टीको नियमावली
५) जनता समाजवादी पार्टी, नेपाल समायोजन निर्देशिका—
२०७७
६) वर्तमान परिस्थिति र हाम्रो कार्यदिशा सम्बन्धी राजनीतिक
प्रतिवेदन तथा प्रस्तावहरू