काठमाडौँ । १२ असार २०८१, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले संगठन निर्माणमा लाग्न सबैलाई आग्रह गरेका छन् ।
जसपाको पहिलो केन्द्रीय समितिको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राईले जसपा नेपालबाट यो पार्टीमा आउन चाहने नेता, कार्यकर्ता र सदस्यहरूलाई संगठित गर्ने कामलाई महत्त्वका साथ सम्पन्न गर्नुपर्ने उल्लेख गरेका छन् ।
पार्टीमा कुनै पनि नीति, निर्णय तथा योजना कार्यान्वयन गर्नका लागि पार्टीका तहगत समितिहरू बन्नुपर्ने उल्लेख गर्दै उनले पार्टी विधानको व्यवस्था अनुसारका तहगत संगठन बनाउने कुरामा जोड दिनुपर्ने बताएका छन् ।
रुपान्तरण, समिति रुपान्तरण, पुनर्गठन वा नयाँ निर्माणको कामलाई अगाडि बढाउन तत्कालका लागि रुपान्तरण तथा पुनर्गठन अभियान सञ्चालन गर्नुपर्ने उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उनले राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘यो अभियानमा आ–आफ्नो जिम्मेवारी भएको ठाउँमा केन्द्रीय सदस्यहरूले प्रदेश समिति वा प्रदेश समिति नबनेको अवस्थामा प्रदेश तदर्थ समिति वा त्यो पनि नबनेको भए पहिचानमा आधारित राष्ट्रिय समिति वा त्यो पनि नबनेको भए जिल्ला समिति वा तदर्थ समिति वा त्यो पनि नभए जिल्ला तदर्थ समिति बनाएर त्यससँगको समन्वयमा रुपान्तरण तथा पुनर्गठन अभियानलाई सञ्चालन गर्नु पर्दछ ।’
यस्ता छन् सात बुँदे योजना:
१. पुरानो समितिको अध्यक्षसहित सबै सदस्य वा बहुमत जनता समाजवादीतिर आएमा बैठकद्वारा निर्णय गरेर कमिटी रुपान्तरणको कार्यक्रम गरी अगाडि बढ्ने ।
२. अध्यक्षसहित अल्पमत वा अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्यहरू आएमा समिति पुनर्गठनको कार्यक्रम गरी अगाडि बढ्ने ।
३. प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला वा पालिका समिति, वडा तथा अन्य समन्वय समितिहरूको रुपान्तरण वा पुनर्गठनका साथमा आधारभूत तथा संगठित सदस्यता पनि रुपान्तरण गर्ने वा नयाँ वितरण गर्ने दुवै काम विधान अनुरूप गर्ने ।
४. रुपान्तरित समितिहरूलाई पार्टी विभाजनको कारण, घोषणा पत्र, विधान, नियमावली परिपत्र आदि बारेमा बुझाउने र त्यस अनुरूप सदस्यताको अभिलेख राख्न लगाउने ।
५. यो अभियान भाद्र महिनाभरिमा सक्नु पर्नेछ ।
६. भ्रातृ/भगिनी संगठनहरूको हकमा पनि केन्द्रीय समितिहरू रुपान्तरत वा पुनर्गठन गर्ने काम सकेसम्म छिटो सकेर तल्लो तहतिर संगठित गर्ने योजनासहित परिचालित गर्ने ।
७. भ्रातृ/भगिनी संगठनहरूको हकमा पनि विधि विधानलाई ध्यान दिँदै सदस्यता रुपान्तरित गरेर साथै विस्तार गरेर अभिलेख व्यवस्थित गर्न लगाउनु पर्छ । युवा, विद्यार्थीहरूले आजको अवस्थादेखि नै विचारशील, विवेकशील अनुशासित र कुशल संगठन र व्यवस्थापक बन्न सिकुन् भन्ने कुरामा हाम्रो ध्यान जान जरुरी छ । हतारको काम लतार पतार भने झैँ नगरौँ तर ढिलासुस्ती र अल्छी पनि नबनौँ । यस बारेमा हाम्रो ध्यान जानु जरुरी छ ।
-News source www.ratopati.com
Leave a Reply