चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

ललितपुर मिति २०८२।११।०३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टीले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष अशोक कुमार राई, केन्द्रीय कार्यकारिणी समिति सदस्य मनिकर कार्की, रमेश राई, राधा तिमिल्सिना, दिपेन्द्र नेम्वाङ, अर्जुन लम्साल, दीपक कुँवर, योगराज लिम्बुलगायतका नेताहरुले ३२ पृष्ठको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष अशोक राईले पार्टीको प्रतिवद्धतापत्र केवल चुनावी प्रतिवद्धतामात्र नभई पार्टीले बोकेको राजनीतिक विचार, दृष्टिकोण र राजनीतिक कार्यदिशासमेत भएको हुँदा यसले मुलुकको अग्रगामी रुपान्तरणको मार्गचित्र प्रष्ट्याउने बताए । पार्टीले सुरुआतदेखि नै वकालत गर्दै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली केवल शासकीय स्वरुपको मात्रै कुरा नभई यो राजनीतिक स्थायित्व र प्रत्यक्ष लोकतन्त्रको आधार भएकाले बहुमत र अल्पमतको राजनीतिक गोलचक्करबाट मुक्त हुनुपर्ने बताए ।

प्रतिवद्धतापत्र सार्वजनिक गर्ने क्रममा बोल्दै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् पार्टीको चुनावी घोषणापत्र लेखन समितिका संयोजक मनिकर कार्कीले वर्तमानमा बरालिएको नेपाली समाज र राजनीतिलाई दिशाबोध गर्दै जनताको विकास, समृद्धि, उन्नति र प्रगतिको चाहना पूरा गर्न समाजवादी चरित्रको राजनीतिक ध्येय निर्धारण गरी त्यसलाई प्राप्त गर्ने स्पष्ट नीति कार्यक्रम र योजनालाई प्रतिवद्धतापत्रमा समावेश गरिएको बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*