आगामी वैशाख ३० गते हुने स्थानी निर्वाचनलाई केन्द्रित गरी जनता समाजवादी पार्टीले वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन मूल समिति गठन गरेको छ ।
हिजो चैत ५ गते बसेको जसपा मुख्यालयकाे बैठकले वरिष्ठ नेता राईको नेतृत्वमा उक्त समिति गठन गरेको हो ।
जसमा राजेन्द्रप्रसाद श्रेष्ठ, महेन्द्र राय यादव, लालबाबु राउत, रेणु यादव, रकम चेम्जोङ, मो इस्तियाक राई, हेमराज राई, शिलवाल थापा, प्रकाश अधिकारीलगायत २२ जना नेताहरु छन् ।
बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीकाे संयोजकत्वमा ११ सदस्यीय प्रचार-प्रसार समिति समेत गठन गरेको छ ।
जसमा अमरनाथ मन्डल, केशव अर्याल, पूर्ण बस्नेत, मुक्ति रिजाल, लक्ष्मण हुमागाईं, विश्वदीप पाण्डे, सुदर्शन खतिवडा, डिबी सरोज राई, प्रेमचन्द्र झा र विजय चाम्लिङ सदस्य छन् ।
निर्वाचन परिचालन मूल समितिले वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनकाे तयारी, परिचालन, अनुगमन लगायत काम गर्नेछ ।
प्रचार-प्रसार समितिले पार्टी र निर्वाचनका विषयलाई विभिन्न माध्यमबाट प्रचार-प्रसार गर्ने, त्यसका योजना बनाउने लगायत काम गर्नेछ ।
जसपाले यही चैत २० गतेभित्रै स्थानीय तहका सबै उम्मेदवारहरुकाे नाम छनोट गरी सोको जानकारी केन्द्रिय कार्यालयमा गराउन मातहतका समितिहरुलाई गत चैत ४ गते निर्देशन दिएको थियाे ।
Leave a Reply