काठमाडौँ । गत २९ साउन २०८२, । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबिच बिहीबार कार्यगत एकताको घोषणा गरिएको छ । दुवै पार्टीका अध्यक्षले सहमतिपत्रमा हस्ताक्षर गर्दै उक्त एकतालाई आगामी दिनमा पूर्ण एकतामा परिणत गर्ने लक्ष्यसहितको सहकार्य सुरु भएको जनाएका छन् ।
कार्यगत एकताको औपचारिक कार्यक्रममा जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्ति पार्टी अध्यक्ष राजेन्द्र महतो, जसपा सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
दुवै अध्यक्षले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई पनि यस प्रक्रियामा सहभागी गराउने बताए । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सबै अधिकारवादी र पहिचानवादी शक्तिहरू एकजुट हुनु समयको आवश्यकता भएको बताए ।
“एमालेबाट अशोक राई त्यतिकै बाहिरिनु भएको होइन, पहिचान र अधिकारका लागि विद्रोह गरेर निस्कनु भएको हो,” महतोले भने, “अब हामी दुवै पहिचानवादी शक्ति मिलेर संयुक्त सङ्घर्षमा उत्रनेछौँ ।”
उनका अनुसार नेपालमा शासनको आधार विदेशी विचारधाराले निर्धारण गरिरहेको छ, तर देशको आफ्नै संस्कृति र सभ्यतालाई संरक्षण गर्दै मौलिक दृष्टिकोणबाट राजनीति सञ्चालन गर्न आवश्यक छ ।
महतोले आगामी १० वर्षको स्पष्ट कार्य योजना बनाएर अगाडि बढ्ने तथा रोजगारीको अवसर सिर्जना गर्दै विदेशमा रहेका नेपालीहरूलाई फर्काउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।
यो कार्यगत एकतामा लोसपालाई पनि सामले गराउने तयारी भइरहेको बताउँदै उनले यो कार्यगत एकतामा पहिचानवादी अन्य शक्तिहरूलाई पनि ल्याउने निर्णय भएको बताए ।
जसपा अध्यक्ष अशोक राईले यो कार्यगत एकतालाई ‘नयाँ खालको राजनीतिक प्रयोग’ भन्दै अन्ततः पूर्ण एकतामा पुर्याउने उद्देश्य रहेको बताए ।
“यो कार्यगत एकतालाई लोसपा नेपाललगायत दलहरूसमेत समेटेर अगाडि बढाउनेछौँ। स्वतन्त्रता र सहमतिपूर्ण एकताको सुरुवात हामीले गरेका छौँ,” राईले भने ।
उनले सङ्घीयतामाथि हाल ठुलो आक्रमण भइरहेको दाबी गर्दै त्यसलाई जोगाउने, कमीकमजोरी सच्याउने र लोकतन्त्रमा देखा परेका विकारहरू हटाउने उद्देश्य दुवै दलको रहेको स्पष्ट पारे ।
उनले पनि लोसपा लगायतका दलहरूलाई पनि यो एकता प्रक्रियामा सामेल गराउने बताउँदै यो कार्यगत एकता नै एकताको प्रारम्भिक प्रक्रिया रहेको बताए ।
जसपा सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले मधेस आन्दोलनबिनै सङ्घीयता र गणतन्त्र नेपालमा नआउने बताउँदै, हालको संरचनामा उत्पीडित जनताको चाहनाअनुसार परिवर्तन नभएको टिप्पणी गरे । “मधेसमा आएको चेतनाले मात्र अधिकारको लडाइँ सम्भव भएको छ,” उनले भने, “त्यही चेतनाले मधेसलाई आफ्नो अधिकारका लागि जागृत बनाएको हो ।”
श्रेष्ठले भने, ‘अघिल्लो जसपा नेपालको अनुभवलाई उदाहरण दिँदै ‘हतारमा गरिएको एकता दीर्घकालीन रूपमा टिक्दैन ।’ उनले समाजवादी पार्टी र राजपा नेपालबिचको हतारको एकताले अन्ततः जसपा नेपाललाई छ टुक्रामा विभाजन गरेको उल्लेख गर्दै, उपेन्द्र यादवको ‘अधिनायकवादी शैलीको कारण पार्टी विभाजन भएको दाबी गरे ।
“अब त्यस्तो गल्ती दोहोर्याउने छैनौँ । अघिल्ला अनुभवको आधारमा सतर्क र योजनाबद्ध रूपमा अघि बढ्ने सोचमा दुवै पार्टी एक भएको उनले बताए ।
दुवै पार्टीका नेताहरूका अनुसार कार्यगत एकताले पहिचान, अधिकार, सङ्घीयताको संरक्षण, लोकतान्त्रिक सुधार र रोजगारी सिर्जनालाई प्राथमिकता दिनेछ ।
यसका लागि संयुक्त आन्दोलन, नीतिगत समन्वय र सङ्गठनात्मक एकीकरणको प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइने योजना छ ।
– समाचार स्रोत रातोपाटी संवाददाता

Leave a Reply