डाउनलोड सहमति पत्रको पूर्ण पाठ >>
काठमाडौँ । ३० श्रावण २०८२ । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच बिहीबार कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गर्दै १८ बुँदे उद्देश्य, १३ बुँदे संगठनात्मक संरचना सञ्चालन विधि र र ६ बुँदे आचारसंहितामा हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा राई र महतोले बिहीबार हस्ताक्षर गरेका हुन् ।
उनीहरूबिच चाँडै पार्टी एकता गर्ने गरी कार्यगत एकताको घोषणा गरिएको नेताहरूले बताएका छन् । ‘देशलाई अग्रगामी निकास दिन पहिचानसहितको सङ्घीयता र समाजवाद पक्षधर शक्तिहरूको एकताबद्ध पहलकदमी आवश्यकता छ भन्ने कुरा हृदयङ्गम गर्दै, संविधानको अग्रगामी संशोधन, परिमार्जन र विकास गर्ने उद्देश्यले जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल निम्न साझा मुद्दा, लक्ष्य र उद्देश्यहरू प्राप्तिका लागि एकता उन्मुख कार्यगत एकता गर्न सहमत भएका छौँ,’ कार्यगत एकताको सहमति पत्रमा उल्लेख छ ।
यसैगरी दुई दलबिच भएको सहमति अनुसार कार्यगत एकताको संरचना तीन तहमा हुने बताइएको छ । जसमा केन्द्रीय तह, प्रादेशिक तह, स्थानीय तहमा कार्यगत एकता हुनेछ। केन्द्रीय तहमा केन्द्रीय संयोजन समिति रहने र यस समितिमा पार्टीका अध्यक्षहरूसहित दुवै पार्टीबाट ७/७ जना रहने उल्लेख छ ।
सहमतिमा कम्तीमा २ जना महिला हुनुपर्ने उल्लेख छ । आपसी समन्वय र कार्य सञ्चालनको लागि सचिवालय बनाउन सकिने प्रावधान राखिएको छ भने प्रादेशिक तहमा प्रदेश संयोजन समिति रहने र यस समितिमा प्रदेशका अध्यक्षहरूसहित प्रत्येक पार्टीहरूबाट ५/५ जना रहने बताइएको छ ।
त्यसैगरी स्थानीय तहमा हाललाई जिल्ला संयोजन समिति रहने र यस समितिमा जिल्ला अध्यक्षसहित ३/३ जना रहने तथा पार्टीका जनवर्गीय/भ्रातृ सङ्गठनहरूबिच पनि आवश्यकतानुसार संयुक्त संरचना निर्माण गर्न सकिने सहमति पत्रमा समेटिएको छ ।
दुई दलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै बहुजातीय/बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवादको नेपाली बाटो तय गर्ने र समाजवादी लोकतान्त्रिक राजनैतिक शक्तिको पहलमा समाजको रूपान्तरणको कार्य अगाडि बढाउने प्रमुख उद्देश्य रहेको बताएका छन् ।
‘सहभागितामूलक समावेशी लोकतन्त्रसहितको सामाजिक, आर्थिक तथा राजनीतिक प्रणालीको विकास गर्ने र त्यसको माध्यमबाट नेपालको आर्थिक विकास, सुशासन, सामाजिक आर्थिक न्याय, समृद्धि र समतामूलक समाजको सुनिश्चित गर्ने’, सहमति पत्रको उद्देश्य तथा प्रतिबद्धता पत्रको एक नम्बर बुँदामा उल्लेख छ ।
दुई दलबिच ५ बुँदे आचारसंहिता
सहमति पत्रमा दुई दलले न्यूनतम आचारसंहिता पालना गर्न ६ बुँदे आचार संहिता समेत जारी गरेका छन् । जसमा दुई दलबिचको केन्द्रीय संयोजन समितिले पारित गरी जारी गरेका निर्देशनहरू तथा प्रदेश र जिल्ला संयोजन समितिहरूले गरेका निर्णयहरू दुवै दलले पालना गर्नुपर्ने उल्लेख छ । जुन दलले बैठकको अध्यक्षता गरेको हुन्छ सोही दलले पत्रपत्रिका, टेलिभिजन, एफएमलगायतका सञ्चार माध्यमहरूको समन्वय र बैठकका निर्णयहरूको ब्रिफिङ गर्ने आचारसंहितामा खुलाइएको छ ।
आचारसंहिताको तेस्रो बुँदामा संयुक्त रूपमा गरिने सार्वजनिक कार्यक्रमहरूमा दुई दलबिचको कार्यगत एकताको उद्देश्य, नीति र कार्यक्रमको आधारमा आफ्नो मन्तव्य दिनुपर्ने उल्लेख छ भने चौथो बुँदामा प्रत्येक घटकहरूले आफूलाई दिएको जिम्मेवारी समयमै पूरा गर्नुपर्ने छ ।
संयुक्त कार्यक्रमहरूमा एउटा पार्टीले अर्को पार्टीमाथि आरोप प्रत्यारोप गर्न तथा कार्यगत एकताको नीति विरुद्ध सार्वजनिक टीकाटिप्पणी गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ । कार्यगत एकताको नीति, कार्यक्रम र उद्देश्य विपरीत हुने गरी आफ्नो गतिविधि नगर्ने तर आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न दुवै दल स्वतन्त्र हुने आचार संहिता जारी गरेका छन् ।






















Leave a Reply