संयुक्त पहिचानवादी माेर्चाका केन्द्रीय नेता याम्फू जसपामा प्रवेश

संयुक्त पहिचानवादी मोर्चाका केन्द्रीय नेता नन्दु याम्फु जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्।

जनता समाजवादी पार्टी प्रदेश नं. १ समितिको धरानमा बसेकाे प्रथम पूर्ण बैठकको अवसरमा पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रदेश नं. १ इन्चार्ज रमेश राईले याम्फुलाई पार्टीमा स्वागत गर्दै औपचारिक रूपमा प्रवेश गराएका हुन्।

कार्यक्रममा प्रदेश नं. १ प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री एवं पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्मला तावा, केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू भिम राई, गोपाल राई, चन्द्रकुमारी कार्की, मानबहादुर राईलगायतका नेताहरूले खादा ओढाई याम्फुलाई स्वागत गरेका थिए।

पार्टी प्रवेशपछि बोल्दै याम्फुले संयुक्त पहिचानवादी मोर्चाका संयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अध्यापन गराउने व्यक्ति भएकाले पहिचानको आन्दोलनका लागि केही सकारात्मक योगदान गर्लान् भन्ने विश्वासका साथ आफूले साथ दिएको बताए।

तर अन्ततः पहिचानविरोधी र संघीयताविरोधी पार्टी रास्वपातर्फ आन्दोलनलाई विसर्जन गराएकाले आफूले पुरानै राजनीतिक घर फर्किने निर्णय गरेको उनको भनाइ थियो।

उनले भने, “मोर्चाका साथीहरू कहिले यता त कहिले उता ढुङ्गाजस्तै लडिरहेका छन्, कहाँ अडिन्छन् भन्ने थाहा छैन। मेरो लागि विचार प्रधान हो। त्यसैले जनता समाजवादी पार्टी मेरो पुरानै घर हो, विचार बोक्ने पार्टी हो। अब मेरो उमेर, योग्यता र क्षमताअनुसार पार्टीले जुन तहमा जिम्मेवारी दिनुहुन्छ, त्यसै तहबाट बाँकी आन्दोलन र मेरो राजनीतिक यात्रालाई अघि बढाउन चाहन्छु।”

जनता समाजवादी पार्टी प्रदेश नं. १ समितिको प्रथम पूर्ण बैठक पुस २४ गतेसम्म सञ्चालन हुनेछ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*